नक्कली नोटसहित भारत बिहार मोतिहारीका विकाश र अजय रौतहटबाट पक्राउ
एक हजार र पाँच सय दरका नेपाली नक्कली नोटसहित दुई जना भारतीय नागरिकलाई रौतहट प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
नेपाली नक्कली नोटसहित प्रहरीले भारत बिहारको मोतिहारीका २६ वर्षीय विकाश जयसवाल र सोही स्थानका ३२ वर्षीय अजय प्रसादलाई पक्राउ गरेको हो ।
प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको प्रहरी टोलीले रौतहटको परोहा नगरपालिका वडा नम्बर ८ नरकटियामा पैदलयात्रु तथा सवारीसाधनलाई चेकजाँच गर्नेक्रममा दुबै जनालाई नेपाली नक्कली नोटसहित पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुबै जनाको साथबाट नेपाली नक्कली नोट एक हजार दरका ६९ थान र ५ सय दरको एक थान नोट बरामद गरिएको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । दुबै जनालाई नियन्त्रणमा लिइ खोटा मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद गराइ कारबाही प्रक्रिया अघि बढाइएको मल्लले बताए।