पुटिन र सीबीच भर्चुअल बैठक, सहकार्यको नयाँ मोडेल विकास गरेको दाबी

कोल्हवी न्यूज
२०७८ पुष १, बिहीबार ०६:२८ गते

चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भर्चुअल बैठक भएको छ। अमेरिकासँग दुवै मुलुकको तनाव बढिरहेका बेला सी र पुटिनबीच संवाद भएको हो। बैठकमा पुटिनले रुस र चीनको मित्रता दुई राज्यबीचको सहकार्यको उत्तम उदाहरण भएको बताए।

‘हाम्रा दुई मुलुकबीच सहकार्यको नयाँ मोडेल विकास भएको छ,’ पुटिनले भने। चीनको राष्ट्रिय हित रक्षाका प्रयासहरुलाई जहिल्यै सघाएको र दुई मुलुकबीच तिक्तता बढाउने प्रयासको कडा विरोध गरेको भन्दै सीले पुटिनको प्रशंसा गरे। ‘यसको म सराहना गर्छु,’ उनले भने।

सीले ‘बहुपक्षीयतावाद’ र ‘नियम’का नाममा हैकमवादी काम र शीतयुद्धकालीन मनस्थितिलाई खारेज गर्न कोसिस गरिनुपर्ने पनि बताए। फेब्रुअरीमा बेइजिङमा हुने हिउँदे ओलम्पिक उद्घाटन समारोहमा आफू सहभागी हुने भन्दै पुटिनले त्यसबेला सीसँग वार्ता गर्ने पनि बताए।

पछिल्लो समय रुस र चीन दुवैको अमेरिकासँग टक्कर बढिरहँदा उनीहरु एकआपसमा नजिक हुँदै गएका छन्। दुई मुलुकबीचको संवादले उनीहरुमाझ यस अघिदेखि नै विद्यमान विश्वास अझ बलियो हुने विश्लेषकहरुले बताएका छन्। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*