पर्सामा बलात्कारका आरोपीद्वारा घटना मिलापत्र गर्न किशोरीलाई दबाब, ज्यान मार्ने धम्कीपछि स्वास्थ्य परीक्षण गर्न अस्विकार

कोल्हवी न्यूज
२०७८ मंसिर २५, शनिबार ०७:२६

२० दिनसम्म बन्धक बनाएर १८ वर्षीय किशोरीलाई बलात्कार गर्ने आरोपीहरुले घटना मिलापत्र गर्न दबाब दिएको खुलेको छ । पर्साको जगरनाथपुर गाउँपालिकाकी १८ वर्षीय किशोरीलाई २० दिनसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको समाचार प्रकाशमा आएपछि आरोपीका आफन्तहरुले आर्थीक प्रलोभन दिनुका साथै धाक धम्की दिने गरेको किशोरीका बुबाको भनाई छ ।

स्थानीय २३ वर्षीय रामधेनी यादव र १९ वर्षीय अवध बिहारी यादवले २० दिनसम्म बन्धक बनाएर आफुलाई बलात्कार गरेको किशोरीले ईलाका प्रहरी कार्यालय पोखरियामा जाहेरी दिएपछि घटना प्रकाशमा आएको हो । कार्तिक २३ गते बिहान ६ बजे पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ स्थित श्री ने।रा।मा।वि। निचुटामा पढन् जाने क्रममा बाटोबाटै अपहरण गरेर मोटरसाईकलमा राखि वीरगञ्जको घडिअर्वास्थित रामधेनीको कोठामा लिएर बन्धक बनाएको किशोरीलाई उद्धृत गर्दै किशोरीका बुबाले बताए । ३ दिनसम्म कोठामै राखेर १७ दिनसम्म रातिको समयमा विभिन्न स्थानमा लिई पटकपटक बलात्कार गरेको किशोरीको बयान छ ।

किशोरीका बुबाका अनुसार मंसिर १३ गते राति ३ बजे उठेर वीरगञ्जबाट भागेर किशोरी घरमा गएकी थिइन् । घर पुगेकै दिन ईलाका प्रहरी कार्यालय पोखरियामा गएर २ युवकविरुद्ध उजुरी दिएको किशोरीका बुबाले बताए । जाहेरीपश्चात स्वास्थ्य परीक्षण गर्नुपर्ने थियो । तर स्वास्थ्य परीक्षण गरेपछि मुद्धा जटिल हुने भन्दै युवकका आफन्तहरुले स्वास्थ्य परीक्षण नगर्न दबाद दिनुका साथै ज्यान मार्ने, घर जलाईदिनेसम्मको धम्की दिँदा डराएर स्वास्थ्य परीक्षण गर्न अस्विकार गरेको किशोरीले बताएपनि अहिले उनी स्वास्थ्य परीक्षण गर्न तयार भएको बताईन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार जाहेरी दिने किशोरीले नै बयान फेरेकी छिन् । सुरुमा जाहेरी दिँदा बन्धक बनाएर बलात्कार गरेको बताएपनि पछि स्वास्थ्य परीक्षण गराउँदा अस्विकार गर्नुका साथै आफूलाई जबरजस्ती गर्ने प्रयास गरेपनि बलात्कार नगरेको भन्दै किशोरीले बयान फेरेको प्रहरी नायब उपरीक्षक खनालले बताए । किशोरीले बयान फेरेपनि घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको खनालको भनाई छ । यात्राडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*