सुरक्षा गार्डको हत्या गरेर सहकारी लुटेको पैसाले मुस्ताङ भ्रमण
दैलेखको हिमचुली बहुउद्देश्यीय सहकारी संस्थामा कार्यरत सुरक्षा गार्डको हत्या गरी लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले हत्या तथा लुटपाटमा संलग्न रहेको अभियोगमा दैलेखको गौरीशंकर गाउँपालिका १ जुगुका २७ वर्षीय विक्रम कार्की र सोही ठाउँका २० वर्षीय सुमन कार्कीलाई पक्राउ गरेको हो। उनीहरुलाई सीआईबीले काठमाडौंको चुच्चेपाटीबाट बिहीबार पक्राउ गरेको एसपी श्यामकुमार महतोले जानकारी दिए।
कात्तिक १० गते गौरीशंकर गाउँपालिका १ जुगुस्थित हिमचुली बहुउदेश्यीय सहकारी संस्थामा कार्यरत सुरक्षागार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको हत्या भएको थियो। उनको हत्यापछि सहकारीमा भएको एक लाख ८५ हजार ७ सय ८० रुपैयाँ लुटपाट भएको थियो। खड्काको शव दुई दिनपछि जुगुस्थित जंगलमा डोरीले हात खुट्टा बाँधिएको तथा खादाले मुखसमेत बाँधिएको अवस्थामा फेला परेको थियो। उनको निधारमा चोट थियो। घटनाको ३५ दिनपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो।
सहकारी लुटेको पैसाले मुस्ताङ भ्रमण
सुमन चाबहिलस्थित पशुपति क्याम्पसमा स्नातक तहमा अध्ययनरत रहेको खुलेको छ। उनले विक्रमसँग एक महिना पहिले नै काठमाडौंमा योजना बनाइ दोलखा गएर हत्या गरी सहकारी लुटेको सीआईबीका प्रवक्ता महतोले बताए। उनीहरु घटना भएकै दिन काठमाडौंबाट साँझ दोलखा गएका थिए। पहिले सुमन पुगेर सुरक्षा गार्डलाई आफ्नो साथी बिरामी भएर ढलेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए।
सीआईबीका अनुसन्धान अधिकृतका अनुसार खड्का र सुमनको पहिले देखिनै चिनजान थियो। विक्रम भने बाटोमा लडिरहेको नाटक गरिरहेका थिए। साथी बिरामी पर्यो भनेपछि सहयोग गर्न खड्का सुमनसँग गएका थिए। त्यहाँ पुगेपछि दुई भाइ मिलेर खड्काको हात पछाडी लगेर बाँधेका थिए। त्यसपछि खुट्टा बाँधे, मुखमा पनि खादाले बाँधेर ढुंगाले हानेर हत्या गरेका थिए।
हत्या गरेपछि खड्काको शव बाटो मुनि फालेका थिए। उनको हत्यापछि उनको झोलामा भएको चाबी लिएर उनीहरु सहकारीमा पुगेका थिए। सहकारीमा रहेको एक लाख ५ हजार ७० रुपैयाँ उनीहरुले लगेपनि सेफ फुटाउन नसकेपछि फर्किएका थिए। हिँड्दै चरिकोटसम्म आएको र त्यहाँबाट बसमा काठमाडौं फर्किएको खुलेको महतोले बताए। दुई दिनपछि कात्तिक १२ गते उनको शव भेटिएको थियो।
काठमाडौं आए लगतै उनीहरु मुस्ताङ घुम्न गएका थिए। मुस्ताङ घुमेर फर्किएपछि प्रहरीले पक्राउ गरेको हो। उनीहरुको साथबाट सुरक्षागार्डको मोवाइल पनि बरामद भएको छ। यस्तै एक लाख ३८ हजार २ सय ३५ रुपैयाँ नगद पनि बरामद गरेको सीआईबीले जनाएको छ। उनीहरुलाई मुद्दा चलाउनका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाइएको सीआईबीले जानकारी दिएको छ। नेपालखबरबाट