चितवन माछा उत्पादनमा आत्मनिर्भर : ७ सय हेक्टर क्षेत्रफलमा माछा पालन
चितवनलाई माछा उत्पादनमा आत्मनिर्भर घोषणा गरिएको छ । माछा उत्पादनमा संलग्न किसानहरूको संस्था नेपाल मत्स्य व्यवसायी सङ्घले माछा उत्पादनमा चितवन आत्मनिर्भर भएको घोषणा गरेको हो ।
जिल्लाको मागभन्दा धेरै उत्पादन भएको हुँदा हामीले चितवन माछा उत्पादनमा आत्मनिर्भर छ भन्ने घोषणा गरिएको हो । सङ्घका चितवन अध्यक्ष खगेन्द्र सुवेदीका अनुसार जिल्लामा वर्षमा चार हजार ३८ टन माछा उत्पादन हुने गरेको छ । यसमध्ये चितवनमा २६ सय टन माछा खपत हुन्छ । अरु अन्य जिल्ला पठाइन्छ ।
यस वर्ष माछाको उत्पादन बढेर ६ हजार ६ सय ५३ मेट्रिक टन पुग्ने अनुमान सङ्घको छ । चितवनमा उत्पादन भएको माछा जिल्लाको माग धानेर ठूलो परिमाणमा देशका प्रमुख सहरमा पुगिरहेकोले जिल्लालाई माछामा आत्मनिर्भर घोषणा गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो ।
सुवेदीकाअनुसार चितवनमा मात्रै दैनिक एक मेट्रिक टन माछा भारतबाट आउने गरेको छ । लामो समयसम्म ताजा देखाउन फर्मलिन नामको औषधि राखेर भारतीय माछा नेपाली बजार आइपुग्ने गरेको उहाँले बताउनुभयो ।
चितवनले जिल्लाको मागभन्दा धेरै माछा उत्पादन गरेको र विभिन्न जिल्लाको माग धानिरहेको भन्दै सरकारी निकायको पनि सहयोग मिले वाग्मती प्रदेशलाई नै माछामा आत्मनिर्भर बन्न चितवनले भूमिका खेल्ने अध्यक्ष सुवेदीले बताउनुभयो ।
चितवनमा ७ सय हेक्टर क्षेत्रफलमा माछा उत्पादन भइरहेको छ । माडी नगरपालिकामा मात्रै १ हजार १ सय ४६ वटा पोखरी रहेको सङ्घको तथ्याङ्क छ । भरतपुर महानगरमा ६ सय ८, रत्ननगरमा २ सय ३०, खैरहनीमा २ सय ३२, राप्तीमा ६१ वटा पोखरी रहेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
चितवनमा कार्प प्रजातिका रघु, कमन कार्प, ग्रास, सिल्भर, ब्रिगेड नामका माछा बढी उत्पादन हुँदै आएको छ । पछिल्लो समय चितवनमा जलकपुर नामको माछा पालनमा कृषकको आकर्षण बढ्दै गएको छ ।
२०४८ सालमा सरकारले माछापालक कृषकलाई प्रति हेक्टर १० हजार रुपैयाँले अनुदान दिन थालेपछि माछा पाल्ने क्रम केही बढेर गयो । चितवनमा १३ सय ७ जना व्यावसायिक माछा पालन रहेको मत्स्य व्यवसायी सङ्घको तथ्याङ्कमा उल्लेख छ । उत्पादनतर्फ २ हजार ८ सय ३१ जनाले रोजगारी पाएका सङ्घले जनायो ।
चितवनमा २०३८ सालदेखि माडी र पश्चिम चितवनको पार्वतीपुर नजिक शङ्करचोकमा माछा पालन व्यवसाय सुरु भएको थियो । उज्यालोबाट









