हुलास फिनसर्भको पहिलो सीईओमा बाराका समीर ठाकुर नियुक्त

कोल्हवी न्यूज
२०८३ मंसिर १०, बुधबार १२:५४ गते

बारा/ बाराको कलैया उपमहानगरपालिका–६ निवासी समीर ठाकुर हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको पहिलो प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् ।

गोल्छा समूहअन्तर्गत सञ्चालित तथा नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त हुलास फिनसर्भले कम्पनीको संस्थागत नेतृत्व र व्यवस्थापकीय संरचनालाई थप प्रभावकारी बनाउने उद्देश्यले ठाकुरलाई सीईओको जिम्मेवारी दिएको हो ।

हायर पर्चेजमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको कम्पनीले सवारीसाधन तथा दैनिक जीवनमा प्रयोग हुने विद्युतीय उपकरण खरिदका लागि ग्राहकलाई किस्ताबन्दीमा वित्तीय सुविधा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले दुई, तीन र चारपाङ्ग्रे सवारीसाधनका साथै ल्यापटप, मोबाइल तथा अन्य विद्युतीय सामग्री खरिदमा समेत वित्तीय सुविधा प्रदान गर्दै आएको छ ।

बजारको आवश्यकताअनुसार नयाँ वित्तीय योजना ल्याउने र विभिन्न साझेदार संस्थासँग सहकार्य विस्तार गरी सेवाको पहुँच सहज बनाउने रणनीति कम्पनीले अघि सारेको छ ।

कम्पनीको इतिहासमै पहिलोपटक सीईओ पद सिर्जना गरी नेतृत्वको जिम्मेवारी प्रदान गरिएकाले दैनिक कार्यसम्पादन, रणनीतिक योजना निर्माण तथा समग्र व्यवस्थापनमा थप सुधार आउने अपेक्षा गरिएको छ ।

हायर पर्चेज वित्तीय सेवाको बदलिँदो बजारमा नयाँ अवसर पहिचान गर्दै व्यवसायलाई थप प्रतिस्पर्धी र दिगो बनाउने लक्ष्यसहित ठाकुरको नेतृत्वले महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*