जबरजस्ती करणी आरोपमा हेटौँडाका चिकित्सक प्रहरी हिरासतमा
मकवानपुरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक चिकित्सक प्रहरी नियन्त्रणमा परेका छन्। हेटौँडा अस्पतालमा कार्यरत चिकित्सकलाई घटनाबारे उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थायी घर भई हाल हेटौँडा–९ पशुपतिनगर नजिक डेरा गरी बस्ने ३१ वर्षीय प्रियम यादव रहेका छन्।
प्रहरीका अनुसार मंसिर ६ गते साँझ ७ः५५ बजे किशोरीले घटनाबारे जानकारी गराएपछि प्रहरीले सोही राति यादवलाई हेटौँडा अस्पतालबाट नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका यादवलाई प्रहरी हिरासतमा राखिएको छ। घटनाको वास्तविकता पत्ता लगाउन थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।









