बाढी प्रभावित नुवाकोट, रसुवा र धादिङमा पूर्वाधार विकासका ५० योजना कार्यान्वयनमा
नुवाकोट । भोटेकोसी बाढीबाट क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण तथा पूर्वाधार विकासका योजना कार्यान्वयन गर्न नुवाकोटमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ ।
नुवाकोटसहित रसुवा र धादिङ जिल्लालाई कार्यक्षेत्र बनाएर विदुरमा कार्यालय सञ्चालनमा ल्याइएको डिभिजन प्रमुख (सिनियर डिभिजनल इञ्जिनियर) सचिन्द्रकुमार यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढीबाट क्षति पुगेका सडक, पक्की पुल तथा झोलुङ्गे पुलको पुनर्निर्माण र नवनिर्माणसँगै क्षेत्रको आवश्यकता अनुसार पूर्वाधार विकासका योजना सञ्चालन गरिनेछ ।
राष्ट्रिय प्राथमिकता प्राप्त सडक सञ्जालको विकास तथा स्तरोन्नति, स्थानीय तहका केन्द्र र सेवा केन्द्र जोड्ने सडक, रणनीतिक कृषि सडक, वैकल्पिक सहायक राजमार्ग तथा पर्यटकीय पदमार्ग निर्माणका योजना अघि बढाउन कार्यालय स्थापना गरिएको यादवले बताउनुभयो ।
बाढीबाट क्षति पुगेका १५ वटा ग्रामीण सडकको पुनर्निर्माणसहित ५० वटा योजना कार्यान्वयन गर्न कार्यालयले अख्तियारी प्राप्त गरेको उहाँले जानकारी दिनुभयो ।
डिभिजन कार्यालय सञ्चालनमा आएसँगै तीन जिल्लामा १२ वटा वैकल्पिक सहायक राजमार्ग, चारवटा सडक पुल, एउटा झोलुङ्गे पुल तथा स्थानीय तहका केन्द्र पुग्ने ११ वटा सडक विस्तार र स्तरोन्नतिका कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।
यस्तै, सडक सुरक्षा, मर्मतसम्भार तथा सडक पूर्वाधार विकासका लागि आवश्यकताअनुसार थप सातवटा योजना तत्काल कार्यान्वयनमा ल्याउने तयारी भइरहेको डिभिजन प्रमुख यादवले बताउनुभयो ।
क्षेत्रीय तथा प्रादेशिक सन्तुलन कायम गर्दै गुणस्तरीय, वातावरणमैत्री, दिगो र उत्थानशील पूर्वाधार विकास गरी विद्यमान असमानता न्यूनीकरण गर्ने उद्देश्यले संघीय सरकारले गत असोज १३ गते गरेको निर्णयअनुसार देशभर विभिन्न स्थानमा २१ वटा डिभिजन कार्यालय स्थापना गर्न लागेको हो ।
तीन तहका सरकारबीच समन्वय तथा सहकार्य बढाउँदै विकासको प्रतिफल विपन्न वर्गसम्म पुर्याउने र नागरिकको जीवनस्तरमा सुधार ल्याउने लक्ष्यसहित डिभिजन कार्यालय विस्तार गरिएको हो ।
कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र आवश्यकताको पहिचान तथा प्राथमिकता निर्धारण, सम्भाव्यता अध्ययन, सर्वेक्षण, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), डिजाइन, लागत अनुमान तथा गुणस्तर परीक्षणलगायतका कार्य गर्ने जनाइएको छ ।









