एआई विकासमा देशहरूले आफ्नै आवश्यकता र स्रोतअनुसार प्रविधि रोज्नुपर्ने यूएनको सुझाव

कोल्हवी न्यूज
२०८३ मंसिर ९, मंगलवार ०६:२९ गते

देशहरूले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा क्षमता विकास गर्न अत्याधुनिक एआई मोडेलमै निर्भर हुन आवश्यक नरहेको संयुक्त राष्ट्रसंघीय वैज्ञानिक प्यानलले जनाएको छ । उपलब्ध एआई प्रणालीको प्रयोग, खुला मोडेलको परिमार्जन तथा आफ्नै आवश्यकता अनुसारका मोडेल विकास गरेर पनि देशहरूले एआई क्षेत्रमा प्रगति गर्न सक्ने प्यानलको निष्कर्ष छ ।

संयुक्त राष्ट्रसंघको स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक एआई प्यानलले आइतबार सार्वजनिक गरेको दोस्रो विषयगत प्रतिवेदनमा एआई विकासका लागि प्रविधिभन्दा पनि तथ्याङ्क, कम्प्युटिङ क्षमता, दक्ष जनशक्ति, कार्यप्रणाली र संस्थागत संरचनामा लगानी महत्वपूर्ण हुने उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार देशहरूले कुन प्रविधि अपनाउने भन्ने निर्णय आफ्ना आवश्यकता, उपलब्ध स्रोतसाधन र राष्ट्रिय प्राथमिकताका आधारमा गर्नुपर्नेछ । अत्याधुनिक एआई मोडेलले समग्र अर्थतन्त्रको उत्पादकत्वमा कति सुधार ल्याउँछन् भन्ने विषय भने अझै अध्ययनकै क्रममा रहेको प्यानलले जनाएको छ ।

विशिष्ट कामका लागि सीमित उद्देश्यका एआई प्रणाली विकास गर्ने वा खुला रूपमा उपलब्ध मोडेललाई स्थानीय आवश्यकता अनुरूप परिमार्जन गर्ने विकल्पबाट पनि देशहरूले एआईको लाभ लिन सक्ने प्रतिवेदनमा उल्लेख छ । यस्तो अभ्यासले देशहरूलाई आफ्नै आवश्यकता र प्राथमिकताअनुसार सार्वभौम एआई क्षमता विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

स्थानीय भाषा, संस्कृति र परिवेशअनुकूल एआई प्रणाली निर्माण गर्दै प्राविधिक क्षमता तथा दक्ष जनशक्ति विस्तार गर्न सकिने प्यानलले जनाएको छ । साथै, एआई प्रणाली प्रयोग गर्नुअघि र प्रयोगका क्रममा प्रभावकारी सुरक्षा मापदण्ड तथा नियमन लागू गर्नुपर्नेमा पनि प्रतिवेदनले जोड दिएको छ ।

प्यानलले तथ्याङ्क र त्यसको व्यवस्थापनलाई एआई विकासका लागि सबैभन्दा महत्वपूर्ण तथा पुनःप्रयोग गर्न सकिने आधारका रूपमा औँल्याएको छ । यद्यपि, यस क्षेत्रमा पर्याप्त लगानी हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

खुला एआई मोडेल, भाडामा उपलब्ध कम्प्युटिङ क्षमता र व्यवस्थित स्थानीय तथ्याङ्कको प्रयोगबाट कम खर्चमै भाषा मोडेललाई स्थानीय आवश्यकताअनुसार परिमार्जन गर्न सकिने प्यानलको भनाइ छ ।

बार्बाडोस सरकार र संयुक्त राष्ट्रसंघको सहआयोजनामा सोमबार हुने एआई सुरक्षासम्बन्धी ब्रिजटाउन विशेष शिखर सम्मेलनअघि उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*