प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारतबाट, ऊर्जा र व्यापार सहकार्य मुख्य एजेन्डा
प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज आइतबार दुईदिने औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गर्दै छन्। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय समकक्षी मोदीसँग हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन्।
भ्रमणमा व्यापार, पारवहन, लगानी, ऊर्जा तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल हुनेछ। साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासका क्षेत्रमा विभिन्न समझदारीपत्र आदानप्रदान गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसै अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ।
नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल–भारत बिजनेस फोरम’ आयोजना गरिनेछ। उक्त कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायीलाई सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार, सरकारी अधिकारी, निजी क्षेत्रका व्यवसायी तथा सञ्चारकर्मी सहभागी छन्।









