रौतहटमा फतुवा गाउँको मुहार फेर्दै ४ करोडको सडक,हिलो र धुलोबाट छुटकारा पाउने आशा

साढे ७ मिटर फराकिलो सडकमा दुवैतर्फ नाला र सडकबत्ती, घरको केही भाग हटाएर सडक विस्तार गर्न गाउँले एकमत
कोल्हवी न्यूज
२०८३ मंसिर ७, आईतवार ०७:५८ गते

सञ्जय मिश्रा,रौतहट:वर्षौंदेखि हिउँदमा धुलो र वर्षायाममा हिलोको सास्ती खेप्दै आएका रौतहटको फतुवा गाउँका बासिन्दामा अहिले नयाँ आशा पलाएको छ। साँघुरो र जीर्ण सडकका कारण दैनिक आवागमनमा कठिनाइ भोग्दै आएका स्थानीयका लागि करिब ४ करोड रुपैयाँको लागतमा आधुनिक सडक निर्माण सुरु भएपछि गाउँको मुहार फेरिने अपेक्षा गरिएको छ।

 

 

फतुवा विजयपुर नगरपालिका–६ स्थित फतुवा गाउँमा प्रदेश सरकारको लगानीमा सडक कालोपत्रेसहित दुवैतर्फ नाला र सडकबत्ती जडान गर्ने योजना अघि बढाइएको हो। फतुवादेखि डुमरिया हुँदै रामदासीसम्म सडक निर्माण हुने भौतिक पूर्वाधार कार्यालय गौरका इन्जिनियर अनिलकुमारले जानकारी दिएका छन्।

 

 

पूर्व अर्थमन्त्री तथा मधेश प्रदेशसभा सदस्य सुनिलकुमार यादव (जितेन्द्र) को पहलमा अघि बढेको यो योजना गाउँको भौतिक पूर्वाधार विकासका लागि महत्वपूर्ण मानिएको छ। फतुवा यादवको पुर्ख्यौली गाउँसमेत हो।

सडक विस्तारमा गाउँलेको सामूहिक साथ

सडक निर्माणलाई निर्धारित मापदण्डअनुसार अघि बढाउन शनिबार पूर्वमन्त्री यादवको अगुवाइमा निर्माण व्यवसायी, प्राविधिक टोली र स्थानीय अगुवाहरूले गाउँको सडक नापजाँच गरेका थिए।

 

 

नापजाँचका क्रममा विभिन्न स्थानमा सडक अतिक्रमणका कारण सडक साँघुरो बनेको पाइएको थियो। सडकलाई व्यवस्थित बनाउन आइतबार बिहान बसेको सर्वदलीय बैठकले गाउँभरि साढे ७ मिटर चौडाइको सडक कायम गर्ने सहमति गरेको स्थानीय जयकरण यादवले बताए।

 

 

सडकको निर्धारित चौडाइभित्र दुवैतर्फ नाला निर्माण गर्नुका साथै सडकबत्ती राखिनेछ। सडक विस्तार गर्दा केही घरका भाग प्रभावित हुन सक्ने अवस्था भए पनि गाउँलेहरूले व्यक्तिगत स्वार्थभन्दा सामूहिक विकासलाई प्राथमिकता दिँदै आवश्यक स्थान खाली गर्ने निर्णय गरेका छन्।

 

 

स्थानीयको यो सहमतिले विकास निर्माणका क्रममा देखिने सम्भावित विवाद र अवरोध कम गर्दै योजनालाई समयमै सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पूर्वमन्त्रीको कार्यकालमा स्वीकृत योजना

इन्जिनियर अनिलकुमारका अनुसार सडक निर्माण योजना सुनिलकुमार यादव अर्थमन्त्री रहेका बेला स्वीकृत भएको थियो। योजना स्वीकृत गराउन तत्कालीन प्रदेश सरकारका अर्थसचिव सञ्जय साहको पनि सकारात्मक भूमिका रहेको उनले बताए।निर्माण कम्पनीले आगामी चैत मसान्तसम्म सडक निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ।

सडकसँगै बदलिने गाउँको जीवनशैली

फतुवा गाउँमा सडक निर्माण सम्पन्न भएपछि स्थानीयको आवागमन सहज हुने, वर्षायाममा हिलो र अन्य समयमा धुलोको समस्या कम हुने तथा गाउँको सरसफाइ र सुरक्षा व्यवस्थामा सुधार आउने अपेक्षा गरिएको छ।

 

 

दुईतर्फी नाला, सडकबत्ती र फराकिलो कालोपत्रे सडकले गाउँलाई व्यवस्थित बस्तीका रूपमा विकास गर्न सहयोग पुग्नेछ। सडक निर्माणका लागि स्थानीयले देखाएको सामूहिक प्रतिबद्धताले विकासप्रति गाउँलेको सकारात्मक सोचसमेत उजागर गरेको छ।

वर्षौंदेखि जीर्ण सडकका कारण सास्ती भोग्दै आएका फतुवावासीका लागि यो आयोजना केवल कालोपत्रे सडक निर्माणमा सीमित छैन। यो गाउँको विकास, सहज आवागमन र जीवनस्तर सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*