सुदूरपश्चिम रोयल्स पहिलो पटक एनपीएल च्याम्पियन
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो।
त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३ ओभर ३ बलमै कुनै विकेट नगुमाई पूरा गर्यो। सुदूरपश्चिमको जितमा जर्ज मुन्सीले आक्रामक ब्याटिङ गर्दै ५४ बलमा अविजित १२५ रन बनाए। विनोद भण्डारीले २७ बलमा अविजित ३० रनको योगदान दिए।
मुन्सीको विस्फोटक शतकीय इनिङ्ससँगै सुदूरपश्चिमले फाइनलमा एकपक्षीय जित निकाल्दै पहिलो पटक एनपीएल ट्रफी उचाल्न सफल भयो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। लुम्बिनीका दिलीप नाथले अविजित ३९, रोहित पौडेलले ३० तथा निरोशन डिकवेलाले २८ रन बनाए।
सुदूरपश्चिमका बलर स्कट कुगेलेइनले दुई विकेट लिए भने हेमन्त धामी, थरिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे।
लगातार तेस्रो पटक एनपीएलको फाइनल खेलेको सुदूरपश्चिम यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो। तेस्रो पटक फाइनल पुगेको टोलीले यसपटक भने हारको इतिहास अन्त्य गर्दै उपाधि आफ्नो नाममा लेखाएको छ।









