धनुषाका १८ वर्षीय चन्दन काठमाडौंमा बेपत्ता, परिवारद्वारा खोजीका लागि अपिल
धनुषाको शहीदनगर नगरपालिका–२ मतौनाका १८ वर्षीय चन्दन यादव काठमाडौंमा बेपत्ता भएका छन्। बुधबार बिहानदेखि सम्पर्कविहीन भएपछि परिवारले उनको खोजीका लागि सार्वजनिक अपिल गरेको छ।
सेन्ट जेभियर्स कलेजमा कक्षा १२ मा अध्ययनरत यादव पर्व मनाएर घरबाट बुधबार बिहान करिब ६ः१५ बजे बस चढी काठमाडौं फर्किएका थिए।
उनका मामा सरोज यादवका अनुसार काठमाडौंमा बसबाट ओर्लिएपछि चन्दन बालकुमारी पुल क्षेत्रबाट ट्याक्सी चढेर शान्तिनगरस्थित आफ्नो कोठातर्फ लागेका थिए। ट्याक्सी चढ्नुअघि उनले भिनाजुसँग फोनमा कुराकानीसमेत गरेका थिए।
सामान्यतया १० मिनेटमै कोठा पुग्नुपर्ने भए पनि उनी गन्तव्यमा नपुगेको र त्यसपछि परिवारको सम्पर्कमा नरहेको मामाले बताएका छन्।
चन्दन बेपत्ता भएपछि परिवारले बुधबार नै प्रहरीलाई जानकारी गराएर खोजीका लागि आग्रह गरेको छ। तर, उनी चढेको ट्याक्सी, चालक तथा उनको अवस्थाबारे अहिलेसम्म कुनै ठोस जानकारी प्राप्त हुन नसकेको परिवारको भनाइ छ।









