बिहारमा ७६ ग्राम ब्राउन सुगरसहित बाराका २४ वर्षीय युवक पक्राउ
बारा । लागूऔषध ब्राउन सुगरसहित भारतको बिहारबाट बाराका एक युवक पक्राउ परेका छन् ।
भारतको आदापुर थाना क्षेत्रअन्तर्गत श्यामपुर गाउँनजिक संयुक्त सुरक्षा गस्तीका क्रममा बाराको देवताल गाउँपालिका–७ फुलवरियाका २४ वर्षीय मनोहर सिंह पक्राउ परेका हुन् ।
भारतीय सशस्त्र सीमा बल (एसएसबी) को ७१औँ बटालियन, बिहार प्रहरी र स्थानीय प्रशासनको संयुक्त टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका सिंहलाई रोकेर जाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो ।
खानतलासी गर्दा प्लास्टिकको बोराभित्र लुकाएर राखिएको ७६.६६ ग्राम ब्राउन सुगर बरामद भएको एसएसबी मुख्यालय पिपराकोठीले जनाएको छ । प्रहरीले उनी सवार बीआर ०५ बीडी २९६७ नम्बरको हिरो स्प्लेन्डर मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका सिंहलाई बरामद लागूऔषध र मोटरसाइकलसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि आदापुर प्रहरी थानामा बुझाइएको एसएसबीले जनाएको छ ।









