चन्द्रनिगाहपुरबाट काठमाडौँ जाँदै गरेको सुमो भैँसेमा दुर्घटना: तीनको मृत्यु, सात घाइते
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेमा बुधबार बिहान भएको सुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा दुई युवती र एक पुरुष रहेका छन् ।
रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज २१४३ नम्बरको यात्रुवाहक सुमो बिहान करिब ८ः३० बजे हेटौँडा–भैँसे सडकखण्डको घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा चन्द्रनिगाहपुर नगरपालिका–४ निवासी २५ वर्षीया अनुसा लामा, सोही स्थानकी २०/२२ वर्षीया जेशिका भन्ने अस्मिता तिमल्सिना र चन्द्रनिगाहपुर नगरपालिका–३ निवासी ५० वर्षीय बमबहादुर वाइबा रहेका छन् ।
त्यस्तै, दुर्घटनामा सुमो चालक ३३ वर्षीय कालुमान लोप्चन, १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छाध्वज थिङ, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया सिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र १९ वर्षीय वेयहान राना मगर घाइते भएका छन् ।
घाइते सातै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।









