निर्वाचनमा एकढिक्का भएर लाग्ने एमालेको संकल्प, राष्ट्रिय भेला सकियो

कोल्हवी न्यूज
२०८३ मंसिर ४, बिहीबार १६:१२ गते

काठमाडौं । २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै नेकपा एमालेको दुईदिने राष्ट्रिय भेला सम्पन्न भएको छ। बुधबारदेखि सुरु भएको भेलाले आगामी निर्वाचनमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने र सरकारका स्वेच्छाचारी गतिविधिविरुद्ध आन्दोलनका लागि तयार रहने निर्णय गरेको छ।

भेलामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी तथा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेलले विभिन्न कार्यपत्र प्रस्तुत गर्नुका साथै प्रशिक्षण दिएका थिए।

करिब ३ हजार ४१४ प्रतिनिधि सहभागी भेलामा पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक राजनीतिक विषय समेटिएको २१ बुँदे संकल्प प्रस्ताव अनुमोदनका लागि प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव पारित भएसँगै भेलाले पार्टीको आगामी राजनीतिक दिशा र रणनीतिबारे सामूहिक प्रतिबद्धता जनाएको छ। प्रस्तावलाई प्रचार विभागले एकीकृत गरी सार्वजनिक गर्ने तयारी गरेको छ।

भेलाको समापन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनलाई लक्षित गरी सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर पार्टीको पक्षमा सक्रिय हुन निर्देशन दिएका छन्।

भेला सकिएपछि खाना खाइसकेलगत्तै एमालेको केन्द्रीय कमिटी बैठक बस्ने प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्। बैठकमा बाँकी रहेका केही नेताहरूको कार्यविभाजनबारे छलफल हुने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*