प्रयोगकर्ताका फोटोमा अनुमतिविना पहुँच गरेको आरोपमा मेटालाई ८८ करोड ७० लाख डलर जरिवाना

कोल्हवी न्यूज
२०८३ कार्तिक ३०, आईतवार १४:०५ गते

प्रयोगकर्ताको गोपनीयता उल्लङ्घन गरेको आरोपमा इटालीले फेसबुकको मातृ कम्पनी मेटामाथि ८८ करोड ७० लाख अमेरिकी डलर अर्थात् करिब १ खर्ब ३४ अर्ब रुपैयाँ जरिवाना गरेको छ।

बीबीसीका अनुसार एन्ड्रोइड प्रयोगकर्ताहरूको स्पष्ट सहमतिविना उनीहरूका व्यक्तिगत तस्वीर तथा भिडियोमा पहुँच प्राप्त गरेको विषयमा इटालीको डेटा सुरक्षा नियामक निकायले मेटालाई कारबाही गरेको हो।

नियामक निकायका अनुसार फेसबुक एपमा रहेको एउटा सुविधामार्फत कम्पनीले प्रयोगकर्ताहरूको फोटो तथा भिडियो ग्यालरीमा पहुँच प्राप्त गर्न सक्ने अवस्था थियो। तर, यस विषयमा करिब दुई करोड प्रयोगकर्तालाई पर्याप्त जानकारी नदिइएको पाइएको छ।

फेसबुकले एपमार्फत प्रयोगकर्ताको सम्पूर्ण फोटो ग्यालरीमा पहुँच प्राप्त गर्न एकपटक मात्र अनुमति माग्ने गरेको थियो। तर, उक्त अनुमतिले प्रयोगकर्ताका तस्वीरका आधारमा विभिन्न पोस्ट तथा सामग्री सुझाव दिनसमेत प्रयोग हुने विषय स्पष्ट रूपमा खुलाइएको थिएन।

यस विषयलाई गम्भीर रूपमा लिँदै इटालीको नियामक निकायले मेटालाई ६० दिनभित्र उक्त सुविधा स्वतः सक्रिय हुने व्यवस्था बन्द गर्न र प्रयोगकर्ताबाट छुट्टै तथा स्पष्ट सहमति लिन निर्देशन दिएको छ।

नियामक निकायका अनुसार एप अपडेट नगरेका वा यसअघि नै उक्त सुविधाका लागि अनुमति दिइसकेका प्रयोगकर्ताहरूमा समेत समस्या कायमै रहेकाले ठूलो सङ्ख्यामा मानिसहरू प्रभावित भएका छन्।

यस कारबाहीले डिजिटल प्लेटफर्महरूले प्रयोगकर्ताको व्यक्तिगत विवरण, तस्वीर तथा गोपनीयताको संरक्षण गर्नुपर्ने दायित्वमाथि पुनः ध्यानाकर्षण गराएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*