करदाताकाे गुनासाे सुन्न संयन्त्र बनाउँछु : अर्थमन्त्री शर्मा

कोल्हवी न्यूज
२०७८ मंसिर १, बुधबार १५:४८ गते

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्ने बताउनुभएको छ । आज बुधवार दशौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभाग लाजिम्पाटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले समस्याको तत्काल समाधान गर्न संयन्त्र बनाइने बताउनुभएको हो ।

‘करदाताहरूको गुनासो सुन्नुपर्छ । यहाँ आइसकेपछि एउटा इकाइ बनाउनुपर्ने आवश्यकता महसुस गरेँ’, मन्त्री शर्माले भन्नुभयो, ‘तपाईँहरूले भन्नुभएको ‘झ’ झिक्नका लागि एउटा इकाइरसंयन्त्र बनाउँछु । त्यहाँ तपाईँले गुनासो राख्न पाउनुहुन्छ ।’ उहाँले कहाँ र के कारणले समस्या भएको भन्ने समस्याको तत्काल समाधानका लागि संयन्त्र बनाउने बताउनुभएको हो ।

मन्त्री शर्माले चुहावटको सूचना दिनेलाई पुरस्कृत नगरिएको गुनासो आएको बताउनु हुँदै त्यस्ता सूचना दिनेलाई तत्काल पुरस्कृत गर्न पनि आग्रह गर्नुभयो । पुरस्कृत नगर्दा सूचना दिन हतोत्साहित हुने गरेको र त्यसले कर सङ्कलनमा समेत असर गरिरहेको भन्नु हुँदै उहाँले ‘इन्सेन्टिभ’ दिन छुटेकालाई समेत तत्काल दिन निर्देशन दिनुभयो ।

मन्त्री शर्माले नागरिकले बुझाएको करबाटै सरकारको नेतृत्वकर्ता र कर्मचारीहरूले नागरिकको सेवा गरिरहेको बताउनुभयो । त्यस्तै राजस्व व्यवस्थापनलाई आउँदा दिनमा प्रविधियुक्त बनाउँदै करदातामैत्री बनाइने बताउनुभयो । ‘पेपरलेस’, ‘कन्ट्याक्टलेस’ बनाउने प्रक्रिया थालनी भएको बताउनु हुँदै उहाँले सुरुवात गरेर मात्र नहुने भन्दै त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘सकारात्मक कामहरू सुरु हुन्छन्, त्यो राम्रो कुरा हो । तर सम्पन्न हुनुबाट मात्र परिणाम आउँछ’, उहाँले भन्नुभयो, ‘सुरु गरेर मात्र पुग्दैन । कर दिवसको अवसरमा सम्पन्न गर्ने प्रतिबद्धता यहाँ जनाउँछु ।’

कर दिवसमा आयोजित कार्यक्रमका अवसरमा मन्त्री शर्माले तीन वटा प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले कर प्रशासनमा हुने झन्झटलाई तत्काल समाधान गर्न इकाइरसंयन्त्र बनाउने, भन्सारमा ‘भेकल स्क्यानर’ को व्यवस्था गर्ने र स्टिकर सकार आफैँले छाप्ने प्रतिबद्धता गर्नुभएको हो ।

यसैगरी अर्थ सचिव मधुकुमार मरासिनीले कर जबरजस्ती नभइ सुशासन र समृद्धिका लागि स्वेच्छिक राजस्व प्रणाली निर्माण गर्न करदाता र कर प्रशासन मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले प्रत्येक नागरिकले तिरेको करबाटै राज्यले प्रदान गर्ने सेवा सुविधा उपलब्ध हुने बताउनु हुँदै सबैलाई करदाता शिक्षा दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

‘शिक्षा, स्वास्थ्य, सुरक्षालगायतका कुरा हामीले तिरेको करबाट व्यवस्था भएको छ । कतिपयलाई कर सकेसम्म नतिरौँ भन्ने लाग्छ, तिर्न परे पनि कम’, उहाँले भन्नुभयो, ‘यो करदाता शिक्षा र करको महत्त्वबारे हामीले मन्थन र बुझाउनुपर्ने लागेको छ ।’

कार्यक्रममा राजस्व सचिव कृष्णहरि पुष्करले कोभिड–१९ महामारीले पुर्‍याएको ठूलो असरमा पनि करदाताले दिएको राजस्वले देशको अर्थतन्त्रलाई पुनरुत्थानमा टेवा पुगिरहेको बताउनु हुँदै सबै करदातालाई धन्यवाद दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*