मकवानपुरमा बसको ढोकाले ठक्कर दिँदा ४१ वर्षीय स्याङ्तानको मृत्यु
मकवानपुर । मकवानपुरगढी गाउँपालिका–२ दुविचौरस्थित कान्तिलोकपथ सडकखण्डमा बसको डिक्कीको ढोकाले ठक्कर दिँदा घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका–२ निवासी ४१ वर्षीय वीरबहादुर स्याङ्तान रहेका छन् ।
प्रहरीका अनुसार असोज २४ गते अपराह्न करिब ४ बजे बुटवलबाट काठमाडौं जाँदै गरेको लु.प्र.०१–००१ ख ०६६४ नम्बरको बसको साइडमा रहेको डिक्कीको ढोकाले पैदल हिँडिरहेका स्याङ्तानलाई ठक्कर दिएको थियो । बस रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ निवासी ३१ वर्षीय विशाल केसीले चलाएका थिए ।
ठक्करबाट स्याङ्तानको टाउको, छाती र खुट्टामा चोट लागेको थियो । उनलाई बसका सहचालकले उपचारका लागि हेटौंडा अस्पताल पुर्याएका थिए । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि साँझ साढे ६ बजे मकवानपुर सहकारी अस्पताल लगिएको थियो ।
मकवानपुर सहकारी अस्पतालमा उपचारका क्रममा साँझ ७ बजेर ५० मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । त्यसपछि शव हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र सडकमा यातायात अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।










