रतनपुरबाट भरुवा बन्दुक र बारुदसहित एक जना पक्राउ
बारा, असोज । बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट प्रहरीले भरुवा बन्दुक, बारुद र पासोसहित एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले मंगलबार बिहान करिब १०ः४५ बजे रतनपुर पश्चिम टोलस्थित फुटबल मैदान नजिकबाट स्थानीय ३९ वर्षीय शम्शेर रुम्बालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार रुम्बाको साथबाट बारुद लोड गरिएको एक थान भरुवा बन्दुक बरामद भएको छ। त्यस्तै, सेतो प्लास्टिकको डब्बामा राखिएको करिब ८० ग्राम बारुदजस्तो पदार्थ, बारुद बनाउन प्रयोग हुने पटका तथा बाँसको टुक्रामा प्लास्टिकको डोरी र रबरको ट्युब प्रयोग गरी बनाइएको एक थान पासोसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका रुम्बाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।










