जनकपुरधाम–८ को पोखरीमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित दशरथ तलावमा एक पुरुषको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मंगलबार बिहान पोखरीको डिलमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार मृतक अन्दाजी ५० देखि ५५ वर्ष उमेरका पुरुष हुन्। उनको नाम, थर र ठेगाना भने खुल्न सकेको छैन।
सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










