कर्जन्हामा ईभी र टिपर ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते
सिरहा । सिरहाको कर्जन्हामा यात्रुवाहक विद्युतीय गाडी (ईभी) र टिपर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिका–४ भुल्केमा शुक्रबार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको म.प्र.०१–००१ ज.०१२४ नम्बरको ईभीलाई विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०३–००२ ख.३९९६ नम्बरको टिपरले ठक्कर दिएको हो।
दुर्घटनामा गोलबजार नगरपालिका–४ की करिब ४५ वर्षीया शोभा कुमारी यादव गम्भीर घाइते भएकी थिइन्। टाउको र अनुहारमा चोट लागेकी उनको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
गम्भीर घाइते २२ वर्षीया प्रियंका यादवलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल लगिएको छ। अर्की घाइते गोलबजार–६ की ४५ वर्षीया ललिता महतोलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।
ईभी चालक धनगढीमाई–२ का ३५ वर्षीय मन्जुर खान, गोलबजार–४ की संगीता मण्डल र फुलकुमारी यादवको अवस्था मध्यम रहेको छ। उनीहरूको फूलकुमारी महतो मेमोरियल अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते तथा मृतक सबै जितिया पर्वका व्रतालु रहेको पारिवारिक स्रोतले जनाएको छ। जितियाको ‘नुहाएर खाने’ दिन भएकाले उनीहरू कमला नदीमा स्नान गर्न गएका थिए।
दुर्घटनामा संलग्न टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।










