धनुषामा टिपर पल्टिँदा क्रसर सञ्चालकको मृत्यु
धनुषा । धनुषाको मिथिला नगरपालिका–३, लालभित्तीस्थित औरही खोला किनारमा सञ्चालित क्रसर उद्योगमा टिपर पल्टिँदा क्रसर सञ्चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार औरही बाबा बालुवा प्रशोधन उद्योगभित्र ग्राभेल लोड गरिएको टिपर पल्टिँदा त्यसमा रहेको ग्राभेलले पुरिएर क्रसर सञ्चालक ३८ वर्षीय हरि महतो गम्भीर घाइते भएका थिए।
प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिपरमा क्रसरभित्र ग्राभेल भर्ने क्रममा बुधबार साँझ टिपर पल्टिएको प्रहरीले जनाएको छ। टिपर पल्टिँदा त्यसमा रहेको बालुवा तथा गिट्टीले महतोलाई पुरेको थियो।
घटनालगत्तै उद्धार गरी उपचारका लागि जानकी मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा उनको बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही घटनामा टिपर चालक गणेशमान चारनाथ नगरपालिका–६ का ३० वर्षीय हरि विकको खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।










