मकवानपुरमा एकैदिन लागुऔषधसहित ६ जना पक्राउ, खैरो हेरोइन र विभिन्न ट्याब्लेट बरामद

कोल्हवी न्यूज
२०८३ आश्विन १५, बिहीबार ११:३९ गते

हेटौंडा । मकवानपुरमा प्रहरीले छुट्टाछुट्टै तीन घटनामा लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइन, ट्रामाडोल र नाइट्राजेपामलगायत लागुऔषध तथा नगद र डिजिटल तराजुसमेत बरामद गरेको जनाएको छ।

बुधबार साँझ मनहरी गाउँपालिका–९ रजैयास्थित सार्वजनिक स्थलमा लागुऔषध खैरो हेरोइन सेवन तथा कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीका ३० वर्षीय अभिषेक थिङ, सोही वडाको बस्तीपुरका २६ वर्षीय आकाश भुलुन र नेवारपानीका २३ वर्षीय रोहित ढुंगाना रहेका छन्। उनीहरूको साथबाट ४ ग्राम ८४० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, बुधबार राति हेटौंडा उपमहानगरपालिका–१ चाइना क्वाटर सुकुम्बासी बस्तीस्थित उमेश थिङको घरमा खैरो हेरोइन बिक्री वितरण भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको संयुक्त टोलीले खानतलासी गरेको थियो।

खानतलासीका क्रममा थिङको ट्राउजरको खल्तीबाट ७ पुरिया खैरो हेरोइनजस्तो धुलो पदार्थ फेला परेको थियो। प्लास्टिकबाहेक तौल गर्दा उक्त पदार्थ ३ ग्राम ८५० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। यस्तै, उनको कोठाबाट डिजिटल तराजु एक थान र नगद ११ हजार रुपैयाँ समेत बरामद भएको छ।

उक्त घटनामा हेटौंडा–११ थानाभर्‍याङका ३५ वर्षीय बिमल श्रेष्ठलाई पनि नियन्त्रणमा लिइएको छ। साथै, श्रेष्ठले प्रयोग गर्ने ना.४१ प ६८४४ नम्बरको स्कुटर समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

यसैगरी, बुधबार राति करिब ९ः१० बजे हेटौंडा उपमहानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय अगाडि प्रहरीले शंकास्पद अवस्थामा ना.३८ प ५६४ नम्बरको स्कुटर रोकी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा हेटौंडा–११ थानाभर्‍याङका २० वर्षीय श्रोहित थिङको साथबाट ट्रामाडोल १० ट्याब्लेट र नाइट्राजेपाम ६ ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले स्कुटरसहित उनलाई नियन्त्रणमा लिएको छ।

तीनवटै घटनामा पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*