सिरहामा एक टनभन्दा बढी गाँजा बरामद, तस्करले छाडे बोलेरो र मोटरसाइकल
सिरहा,सिरहामा सशस्त्र प्रहरीको संयुक्त टोलीले एकैपटक एक टनभन्दा बढी प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। प्रहरी टोलीलाई देखेपछि ओसारपसारमा संलग्न व्यक्ति भने गाँजा बोकेको बोलेरो र मोटरसाइकल छाडेर फरार भएका छन्।
सुखीपुर नगरपालिका–१० विश्वकर्माचोकस्थित गागन खोलाको पुलमा बुधबार राति करिब साढे १२ बजे भएको कारबाहीका क्रममा २६ बोरामा राखिएको १ हजार १०२ किलो ६ सय ५५ ग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल मधेस प्रदेशका प्रमुख डीआईजी विष्णु भट्टका अनुसार विशेष सूचनाका आधारमा नम्बर ७ गण हेडक्वार्टर सिरहा, सुरक्षा बेस गोलबजार र सुरक्षा बेस सुखीपुरबाट परिचालित संयुक्त टोलीले उक्त गाँजा बरामद गरेको हो।
टोलीमा गण हेडक्वार्टरबाट इन्स्पेक्टर राजेश आचार्यको कमान्डमा १५ जना, गोलबजारबाट इन्स्पेक्टर केशवबहादुर शाहीको कमान्डमा ७ जना र सुखीपुरबाट सई अंगद हरिजनको कमान्डमा ७ जना गरी २९ जना प्रहरी परिचालन भएका थिए।
प्रहरीका अनुसार घटनास्थलबाट बा.१४ च २९४ नम्बरको फुलबडी बोलेरो र स.६ प ४८५९ नम्बरको अपाचे मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।
ठूलो परिमाणले तस्करीको संकेत
एकैपटक एक हजार एक सय किलोभन्दा बढी गाँजा बरामद हुनुले सिरहा हुँदै ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको संकेत गर्छ। गाँजा बोकेको गाडी र मोटरसाइकलसमेत छाडेर तस्कर फरार हुनु तथा बरामद भएको परिमाण ठूलो हुनुका कारण यसको स्रोत, गन्तव्य र संलग्न व्यक्तिको पहिचानतर्फ अनुसन्धान केन्द्रित हुने देखिन्छ।
सशस्त्र प्रहरीले बरामद गाँजा, बोलेरो र मोटरसाइकल सिरहास्थित नम्बर ७ गण हेडक्वार्टरमा ल्याएको छ। फरार व्यक्तिको खोजी तथा थप अनुसन्धान गरी आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।










