बागलुङमा बाढी–पहिरोको वितण्डा, १० जनाको मृत्यु एक बेपत्ता
अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण बागलुङमा ठूलो जनधनको क्षति भएको छ। पहिरोमा पुरिएर जिल्लाका विभिन्न स्थानमा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्।
सहायक प्रमुख जिल्ला अधिकारी गंगालाल सुवेदीका अनुसार निसीखोला, तमानखोला र ताराखोला गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले मानवीय क्षति पुर्याएको हो।
निसीखोला गाउँपालिका–३ मा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३६ वर्षीय श्यामकुमारी बिक, १३ वर्षीय मनोज बिक, ८ वर्षीय युकेश बिक, ३ वर्षीय निशान बिक र ५० वर्षीय सुर्ज घर्ती मगर रहेका छन्।
त्यस्तै, ताराखोला गाउँपालिका–५ का ५५ वर्षीय मनबहादुर बिकको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ।
तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएको छ। वडा नं. ३ का ८० वर्षीय बुद्धिराज घर्ती र ६५ वर्षीय भीमवेदी घर्ती तथा वडा नं. ४ का ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीय उदिसरा बिक श्रीपालीको मृत्यु भएको सुवेदीले जानकारी दिए। वडा नं. ४ का एक जना भने बेपत्ता छन्।
बाढी तथा पहिरोका कारण जिल्लाका विभिन्न स्थानमा सडक, बस्ती तथा भौतिक संरचनामा समेत क्षति पुगेको छ। प्रभावित क्षेत्रमा उद्धारसँगै क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रशासनले जनाएको छ।










