धनुषामा हवाई फायर गरेर लागुऔषध कारोबारी युवक पक्राउ
जनकपुर । धनुषामा प्रहरीले हवाई फायर गरेर लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
विदेह नगरपालिका–८ बफैमा आइतबार साँझ लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले स्थानीय २२ वर्षीय अजय मण्डललाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी तिनकौरियाबाट खटिएको संयुक्त टोलीले मण्डलको साथबाट ब्राउन सुगरजस्तो देखिने करिब १४.४० ग्राम लागुऔषध बरामद गरेको जनाएको छ।
मण्डललाई पक्राउ गर्ने क्रममा ७–८ जनाको समूहले प्रहरीमाथि लाठी, भाटालगायतका सामग्रीले आक्रमण गरेको प्रहरीले जनाएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो। घटनामा एक प्रहरीसमेत घाइते भएका छन्।
पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान भइरहेको छ। प्रहरीमाथि आक्रमणमा संलग्न अन्य ७ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।










