बारामा मोटर जडान गरिएको धाराबाट पानी पिउँदा करेन्ट लागेर युवकको मृत्यु
बारा । बारामा मोटर जडान गरिएको धाराबाट पानी पिउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा महानगढीमाई नगरपालिका–८, बेतौनाका २५ वर्षीय राजु देवान रहेका छन्।
प्रहरीका अनुसार पचरौता नगरपालिका–८, बाझोपट्टीस्थित दुर्गाप्रसाद यादवको घरमा जडान गरिएको मोटरयुक्त धाराबाट पानी पिउने क्रममा देवानलाई अचानक करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल कलैयास्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो। तर अस्पताल पुर्याएलगत्तै चिकित्सकले देवानलाई मृत घोषणा गरेका थिए।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।










