बारामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
बारा, १० असोज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पुलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
शुक्रबार राति हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना.६ ख ३६४४ नम्बरको ट्रकले सोही दिशामा गुडिरहेको बा.प्र.०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो।
दुर्घटनामा मोरङ लाङटाङ नगरपालिका–१ का अन्दाजी ३५ वर्षीय योगेन्द्र मगर गम्भीर घाइते भएका थिए। टाउकोमा चोट लागेका उनलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज लगिएको थियो। उपचारकै क्रममा राति ११ः५० बजे चिकित्सकले मगरलाई मृत घोषणा गरेका थिए।
दुर्घटनापछि प्रहरीले घटनास्थलमा पुगेर उद्धार तथा व्यवस्थापन गरेको थियो। इलाका प्रहरी कार्यालय अमलेखगञ्ज र सिमराबाट खटिएको प्रहरी टोलीले दुर्घटनामा संलग्न ट्रक र चालक जितपुरसिमरा–२१ का अन्दाजी ३३ वर्षीय राजन खड्कालाई नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










