कोल्हवीमा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु,चार जना घाइते
कोल्हवी:बारा जिल्लाको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा टेलिभिजन चलाउने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने करेन्टबाट छुट्याउन खोज्दा चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार बुधबार (२०८३ असोज ९ गते) करिब दिउँसो १२ बजेको समयमा जुगुवा टोल निवासी श्याम रामका १० वर्षीय छोरा आकाश रामले आफ्नै घरमा टेलिभिजन चलाउन खोज्ने क्रममा तार सर्ट भई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका आकाशलाई उपचारका लागि दिउँसो करिब १ बजेर ५ मिनेटमा प्रादेशिक अस्पताल कलैया पुर्याइएको थियो।
अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गर्दा बालकको बाटोमै मृत्यु भइसकेको जानकारी गराएका थिए। अस्पतालबाट दिउँसो करिब १ बजेर ४५ मिनेटमा इलाका प्रहरी कार्यालय कोल्हवीलाई घटनाबारे जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
करेन्ट लागेका बालकलाई छुट्याउने क्रममा अन्य चार जना पनि घाइते भएका छन्। मृतककी करिब ७० वर्षीया हजुरआमा ऐतबरियाको हातमा करेन्ट लागेर तामागढी अस्पताल कोल्हवीमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, मृतककी १२ वर्षीया दिदी निलम रामको हातमा करेन्ट लागेर सिटी अस्पताल कोल्हवीमा उपचार भइरहेको छ। उनको अवस्था पनि मध्यम रहेको छ।
घटनामा कोल्हवी–३ जुगुवा टोल निवासी पाचु रामकी करिब ४० वर्षीया श्रीमती फूलकुमारी रामको हातमा करेन्ट लागी तामागढी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। सोही स्थानकी बिगम शर्माकी करिब ४१ वर्षीया श्रीमती अनिता शर्माको हातमा पनि करेन्ट लागेको र उनको तामागढी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी सहायक निरीक्षक शम्भु यादवको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। घटनास्थल सुरक्षित राखिएको तथा थप अनुसन्धान र मुचुल्काका लागि इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक सविनकुमार कार्कीको कमाण्डमा टोली खटाइएको प्रहरीले जनाएको छ।










