जीतपुरसिमराबाट १ किलो ७३० ग्राम गाँजाजस्तो पदार्थसहित युवक पक्राउ
जीतपुर, ९ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–८ गोबरगावाबाट प्रहरीले १ किलो ७३० ग्राम गाँजाजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय ३६ वर्षीय जयनारायण चौधरी रहेका छन्। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो करिब ४ः४० बजे चौधरीलाई आफ्नै घरको आँगनबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार चौधरीको घरआँगनमा खानतलासी गर्दा १५ पुरीयामा राखिएको ३२० ग्राम र कालो प्लास्टिकमा प्याक गरिएको १ किलो ४१० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद भएको थियो। प्लास्टिकसहित बरामद पदार्थको कुल तौल १ किलो ७३० ग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको चार सदस्यीय टोलीले चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जीतपुरमा ल्याएको हो।
प्रहरी स्रोतका अनुसार चौधरी यसअघि पनि गाँजा कारोबारसम्बन्धी मुद्दामा पक्राउ परी सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन्। उनी पुनः सोही प्रकृतिको आरोपमा पक्राउ परेका हुन्।
चौधरीविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










