हेटौंडा–१७ मा मिनि ट्रकको ठक्करबाट ७२ वर्षीया महिलाको मृत्यु
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ मा मिनि ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बिहीबार बिहान करिब ७ः४० बजे कान्तिराजपथ सडकखण्डअन्तर्गत सालकपार्कमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०३–००२ ख ४८२४ नम्बरको मिनि ट्रकले हेटौंडाबाट शिखरकटेरीतर्फ जाँदै गरेको बा.प्र.०३–००५ प ५००९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
मोटरसाइकललाई ठक्कर दिएपछि मिनि ट्रक करिब ५०० देखि ७०० मिटर पश्चिमतर्फ चुनडाँडामा पुगेर पैदल हिँडिरहेकी स्थानीय ७२ वर्षीया जानकीमाया न्यौपानेलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा–१३ पदमपोखरीका २६ वर्षीय सागर चौलागाईं र पछाडि सवार सोही स्थानका २५ वर्षीय नारायणप्रसाद ढुंगाना घाइते भएका थिए। चौलागाईंको बाँया हातमा चोट लागेको थियो भने ढुंगानाको बाँया खुट्टामा चोट लागेको थियो। दुवैको हेटौंडास्थित मोडेल अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ।
मिनि ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी न्यौपानेको अनुहार, बाँया हात तथा दुवै खुट्टामा चोट लागेको थियो। हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिहान ११ः१५ बजे काठमाडौंस्थित बीएनबी अस्पतालमा रिफर गरिएकोमा अस्पताल पुगेपछि दिउँसो २ः१४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरी चौकी चौघडाबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले मिनि ट्रक चालक बाराको कोल्हबी नगरपालिका–४ प्रगतिनगरका करिब २५ वर्षीय पवन विकलाई नियन्त्रणमा लिएको छ।
क्रेनको सहायताले दुर्घटनामा परेको मिनि ट्रक घटनास्थलबाट निकालेर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको छ। ट्रक चालक, मिनि ट्रक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










