१८ वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी कलैयाबाट पक्राउ
बारा । अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–७ बगही टोलका २३ वर्षीय अफरोज अंसारी रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले बुधबार कलैया उपमहानगरपालिका–६ स्थित कलैया बजारबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार परिवर्तित नाम जिल्ला–३३–कलैया–९८ (०७८/०७९) को जाहेरीका आधारमा नेपाल सरकार वादी र अंसारी प्रतिवादी रहेको मुद्दामा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले २०८२ पुस २४ गते फैसला गरेको थियो।
अदालतले अंसारीलाई १८ वर्ष कैद सजायसँगै ६ लाख रुपैयाँ जरिवाना र अपराध पीडित राहत कोषमा २४ हजार रुपैयाँ भराउने फैसला गरेको थियो। फैसलापछि उनी फरार रहेका थिए।
बारा प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार पक्राउ परेका अंसारीलाई बारा जिल्ला अदालतमा पेश गरिएको थियो। अदालतको २०८३ असोज ७ गतेको पत्रआदेशअनुसार उनलाई कारागार कार्यालय वीरगन्ज, पर्सामा पठाइएको प्रहरीले जनाएको छ।










