न्यून चापीय क्षेत्र शक्तिशाली बन्दै, शुक्रबारदेखि भारीदेखि अतिभारी वर्षाको सम्भावना

कोल्हवी न्यूज
२०८३ आश्विन ६, मंगलवार १७:०४ गते

आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

बङ्गालको खाडीको मध्य भू–भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै गएकाले त्यसको प्रभाव नेपालमा पर्ने देखिएको महाशाखाले जनाएको छ। मौसमविद् मीनकुमार अर्यालका अनुसार उक्त प्रणालीको मुख्य प्रभाव असोज ९, १० र ११ गते रहनेछ।

बागमती प्रदेशभन्दा पश्चिमका क्षेत्रमा बढी प्रभाव पर्ने देखिएको छ। गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा भारीदेखि धेरै भारी तथा केही स्थानमा अतिभारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

त्यस्तै, लुम्बिनीको दाङदेखि पूर्व नवलपुरसम्म, कर्णालीको पूर्वी भूभाग तथा सुदूरपश्चिमका दक्षिणी पहाडी र तराई क्षेत्रमा समेत वर्षाको प्रभाव देखिने मौसमविद् अर्यालले बताए।

बागमती प्रदेशको चितवन आसपास तथा यसअघि बाढीपहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा मध्यम वर्षाले समेत असर पुर्‍याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसैबीच, मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि पछिल्ला वर्षको प्रवृत्ति हेर्दा यस वर्ष मनसुन केही दिन ढिलो बाहिरिन सक्ने महाशाखाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*