काठमाडौं–तराई द्रुतमार्गको म्याद थप तीन वर्ष लम्बियो, २०८६ चैतभित्र सक्नुपर्ने

कोल्हवी न्यूज
२०८३ आश्विन ६, मंगलवार १५:०४ गते

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माण सम्पन्न गर्ने म्याद थप तीन वर्ष लम्बिएको छ। अब नेपाली सेनाले आयोजना २०८६ चैत मसान्तभित्र सम्पन्न गर्नुपर्ने भएको छ।

गत साउन २० गते बसेको मन्त्रिपरिषद् बैठकले द्रुतमार्गको निर्माण अवधि थप गर्ने निर्णय गरेको रक्षा मन्त्रालयका प्रवक्ता बाबुराम भण्डारीले जानकारी दिएका छन्। यसअघि २०८३ चैतसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य थियो।

आयोजनाको हालसम्म भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ५१.४७ प्रतिशत पुगेको सेनाले जनाएको छ। ७१ किलोमिटर लामो द्रुतमार्ग निर्माणका लागि २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा हालसम्म ९४ अर्ब २२ करोड रुपैयाँ खर्च भइसकेको छ।

द्रुतमार्ग निर्माणका क्रममा सातवटा सुरुङ र ८९ वटा पुल निर्माण गर्ने योजना छ। धेद्रे र लेनडाँडा सुरुङमा ‘ब्रेक थ्रु’ भइसकेको छ भने अन्य सुरुङमा निर्माण जारी छ।

ललितपुरको खोकना–बुङमती खण्डमा जग्गा अधिग्रहण तथा स्थानीय विवाद समाधान हुन नसक्दा महत्वपूर्ण काम अघि बढ्न सकेको छैन। नेपाली सेनाले आयोजना निर्माणको जिम्मेवारी पाएयता म्याद थपिएको यो तेस्रोपटक हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*