सर्लाहीको दक्षिणी क्षेत्रमा विद्युत् आपूर्ति सुधार, १३२ केभी प्रसारण लाइन सञ्चालनमा
सर्लाही । सर्लाहीको दक्षिणी क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले लालबन्दी–सलेमपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन र चैनपुरमा निर्माण गरिएको १३२/३३/११ केभी सबस्टेसन सञ्चालनमा ल्याएसँगै विद्युत् आपूर्ति सुधार हुने भएको हो।
लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका–७ चैनपुरसम्म करिब २० किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिएको छ। चैनपुर सबस्टेसनमा ३० एमभीएका दुईवटा १३२/३३ केभी र २४ एमभीएको एउटा ३३/११ केभी पावर ट्रान्सफर्मर जडान गरिएको छ।
कुल ८४ एमभीए क्षमता रहेको सबस्टेसनबाट स्थानीय विद्युत् वितरणका लागि ३३ केभीका पाँच र ११ केभीका छवटा फिडर सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ।
आयोजना सञ्चालनमा आएपछि मलंगवा, हरिपुर, हरिपूर्वा, डुमरिया र बरहथवालगायत क्षेत्रमा विद्युत् आपूर्ति सुधार हुने अपेक्षा गरिएको छ। यसबाट न्यून भोल्टेज, बारम्बार हुने ट्रिपिङ तथा विद्युत् चुहावटको समस्या घट्नुका साथै बढ्दो विद्युत् माग व्यवस्थापनमा समेत सहयोग पुग्ने प्राधिकरणको भनाइ छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले ग्राहकलाई पर्याप्त भोल्टेजसहित भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन प्रसारण तथा वितरण प्रणालीका पूर्वाधार विस्तार र सुदृढीकरणलाई प्राथमिकता दिइएको बताए।
आयोजना निर्माणका लागि २०७९ चैतमा १ अर्ब १२ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। २०८० वैशाखदेखि कार्यान्वयनमा आएको आयोजना नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्माण गरिएको हो।









