बारामा पाँच वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा दुई पक्राउ

कोल्हवी न्यूज
२०८३ आश्विन ३, शनिबार १२:५१ गते

बारा, ३ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा पाँच वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जीतपुरसिमरा–१९ इनर्वासिराका ७५ वर्षीय हसन जान मियाँ र जीतपुरसिमरा–१ पथलैयाका १४ वर्षीय नाबालक रहेका छन्। मियाँलाई बिहीबार राति र नाबालकलाई शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी पथलैया र इलाका प्रहरी कार्यालय सिमराको टोलीले दुवै जनालाई उनीहरूकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रारम्भिक सोधपुछका क्रममा १४ वर्षीय नाबालकले आरोप स्वीकार गरेको बताइए पनि घटनाको वास्तविकता स्वास्थ्य परीक्षण र थप अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ।

दुवै आरोपीलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। पथलैयाको घटनामा पीडित बालिका र आरोपित नाबालकलाई स्वास्थ्य परीक्षण तथा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सेवाका लागि प्रादेशिक अस्पताल कलैया पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

स्वास्थ्य परीक्षणको प्रतिवेदन र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*