स्नातकदेखि पीएचडीसम्मका विद्यार्थीलाई त्रिविको दीक्षान्तमा सहभागी हुने अवसर

कोल्हवी न्यूज
२०८३ आश्विन २, शुक्रबार ०६:४० गते

त्रिभुवन विश्वविद्यालय (त्रिवि), परीक्षा नियन्त्रण कार्यालयले ५२औँ दीक्षान्त समारोहमा सहभागी हुने योग्य विद्यार्थीका लागि अनलाइन आवेदन खुलाएको छ।

कार्यालयका अनुसार २०८२ असार १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीले आवेदन दिन सक्नेछन्। सोही अवधिमा विद्यावारिधि (पीएचडी) पूरा गरेका विद्यार्थी पनि दीक्षान्त समारोहमा सहभागी हुन योग्य हुनेछन्। योग्य विद्यार्थीले असोज १ गतेदेखि कात्तिक १२ गतेसम्म अनलाइन आवेदन दिनुपर्नेछ।

यसपटक विद्यार्थीको सहजतालाई ध्यानमा राख्दै त्रिविले सातै प्रदेशमा दीक्षान्त समारोहका लागि केन्द्र तोकेको छ। बागमती, कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा केन्द्र रहनेछन्। आवेदन फाराम भर्दा विद्यार्थीले आफू सहभागी हुने केन्द्रसमेत छनोट गर्नुपर्नेछ।

यद्यपि एमफिल, पीएचडी, टपर तथा पदक प्राप्त गर्ने विद्यार्थीका लागि बागमती प्रदेश केन्द्र तोकिएको छ।

दीक्षान्त समारोहमा सहभागी हुन तहअनुसार फरक शुल्क निर्धारण गरिएको छ। स्नातक तहका विद्यार्थीले तीन हजार रुपैयाँ, स्नातकोत्तर तथा एमफिल तहका विद्यार्थीले तीन हजार पाँच सय रुपैयाँ र पीएचडी पूरा गरेका विद्यार्थीले चार हजार रुपैयाँ दीक्षान्त तथा प्रमाणपत्र शुल्क तिर्नुपर्नेछ।

त्यसैगरी, गाउन र स्कार्फका लागि सबै तहका विद्यार्थीले दुई हजार पाँच सय रुपैयाँ धरौटी बुझाउनुपर्नेछ। धरौटी रकमबाट पाँच सय रुपैयाँ मर्मतसम्भार खर्च कट्टा गरी बाँकी दुई हजार रुपैयाँ विद्यार्थीको बैंक खातामा फिर्ता गरिनेछ।

विद्यार्थीले बढीमा दुई जना अभिभावकलाई समारोहमा सहभागी गराउन पाउनेछन्। प्रत्येक अभिभावकका लागि चार सय रुपैयाँ फिर्ता नहुने शुल्क तोकिएको छ।

त्रिविको लोगो अंकित प्रमाणपत्र फोल्डर लिन चाहने विद्यार्थीले थप पाँच सय रुपैयाँ तिर्नुपर्नेछ। दीक्षान्तसँग सम्बन्धित सम्पूर्ण शुल्क नेपाल बैंक वा ग्लोबल आईएमई बैंकमार्फत अनलाइन बैंकिङ प्रणालीबाट मात्र भुक्तानी गर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*