मकवानपुरमा बालिकामाथि जबरजस्ती करणीको आरोपमा ४६ वर्षीय पुरुष पक्राउ
हेटौंडा । मकवानपुरको हेटौंडामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ४६ वर्षीय पुरुष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–५, सानोपोखराका खेमबहादुर श्रेष्ठ रहेका छन्। उनी हेटौंडास्थित लक्ष्मी बैंकको शाखामा सुरक्षा गार्डका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तीजको समयमा श्रेष्ठले बालिकालाई ५ सय रुपैयाँ दिएर शारीरिक सम्पर्कका लागि आग्रह गरेको र जबरजस्ती करणी गरेको आरोप छ। घटनाका बेला बालिका ज्वरोका कारण बिरामी अवस्थामा रहेको बताइएको छ।
घटनाबारे जानकारी पाएपछि प्रहरीले सोही दिन राति श्रेष्ठलाई पक्राउ गरेको हो। बालिकालाई भने सुरक्षाका लागि सेफ हाउसमा राखिएको प्रहरीले जनाएको छ।
बालिका हजुरआमासँग बस्दै आएकी थिइन्। घटनाका सम्बन्धमा हजुरआमाले समेत प्रहरीसमक्ष बयान दिएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।










