जेठदेखि रोकिएको सार्वजनिक सवारी दर्ता असोजदेखि खुल्ने

कोल्हवी न्यूज
२०८३ भाद्र ३१, बुधबार १५:४४ गते

सरकारले असोज १ गतेदेखि सार्वजनिक सवारीसाधनको दर्ता पुनः खुला गर्ने भएको छ। तत्कालका लागि काठमाडौं उपत्यकाबाहिर सार्वजनिक सवारी दर्ता गर्न पाउने व्यवस्था गरिएको छ।
यातायात व्यवस्था विभागका अनुसार उपत्यका बाहिर दर्ता हुने सार्वजनिक सवारीमा विद्युतीय सवारीसाधन (ईभी) लाई प्राथमिकता दिइएको छ। यससम्बन्धी व्यवस्था कार्यान्वयन गर्न विभागले सबै प्रदेश सरकारलाई आवश्यक जानकारी गराएको छ।
सरकारले गत ७ जेठदेखि सार्वजनिक सवारीसाधनको दर्ता रोकेको थियो। दर्ता रोक्नुको कारण र अहिले पुनः खुला गर्नुको स्पष्ट आधारबारे विभागका अधिकारीले विस्तृत जानकारी दिएका छैनन्।
विभागका निर्देशक मणिराम भुसालका अनुसार काठमाडौं उपत्यकाभित्रको रुट तथा सवारी व्यवस्थापनलाई ध्यानमा राख्दै हाल उपत्यका बाहिर मात्रै दर्ता खुला गरिएको हो।
यसअघि विभागले मालवाहक सवारीसाधनको दर्ता भने १८ साउनदेखि नै खुला गरिसकेको थियो। त्यस्तै, ८ असारसम्म एलसी खोलिसकेका र नेपाल भित्रिसकेका सार्वजनिक सवारीसाधनलाई समेत दर्ता गर्ने व्यवस्था गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*