सरकारले आमाको प्रसूति बिदा ६ महिना र बाबुको बिदा ४२ दिन पुर्‍याउने प्रस्ताव अघि सार्‍यो

कोल्हवी न्यूज
२०८३ भाद्र ३१, बुधबार ११:५० गते

सरकारले नवजात शिशुको हेरचाहका लागि आमाबाबुले पाउने प्रसूति तथा स्याहार बिदाको अवधि बढाउने तयारी गरेको छ।

सरकारले हाल आमाले पाउँदै आएको ९० दिनको प्रसूति बिदालाई बढाएर ६ महिना पुर्‍याउने प्रस्ताव अघि सारेको छ। यस्तै, बाबुले पाउँदै आएको १५ दिनको बिदा बढाएर ४२ दिन पुर्‍याउने प्रस्ताव गरिएको छ।

यसका लागि सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न विधेयक तयार गरेको हो। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका अनुसार विधेयकलाई मन्त्रिपरिषद्बाट स्वीकृत गराएर संसद्मा पेस गर्ने तयारी भइरहेको छ।

प्रस्तावित व्यवस्थाअनुसार आमालाई कम्तीमा ६ महिनासम्म तलबसहितको प्रसूति बिदा उपलब्ध गराउने व्यवस्था हुनेछ। बाबुलाई पनि बच्चा जन्मिएपछि परिवार तथा नवजात शिशुको स्याहारमा सहभागी हुन ४२ दिनसम्म तलबसहितको बिदा दिने प्रस्ताव गरिएको छ।

सरकारका अनुसार बच्चाको जन्मपछि हेरचाह र पालनपोषण आमाको मात्र नभई दुवै अभिभावकको साझा जिम्मेवारी भएकाले बिदाको अवधि बढाउन लागिएको हो। यसबाट प्रसूतिपछि आमालाई स्वास्थ्य सुधारका लागि पर्याप्त समय मिल्नुका साथै बाबुलाई पनि नवजात शिशुको प्रारम्भिक हेरचाहमा सक्रिय रूपमा सहभागी हुने अवसर मिल्ने अपेक्षा गरिएको छ।

मन्त्रालयका अनुसार संशोधन विधेयक अहिले मन्त्रिपरिषद्मा लैजाने प्रक्रियामा छ। मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि संसद्मा पेस हुनेछ। संसद्बाट पारित भएर कानुनका रूपमा लागू भएपछि मात्रै प्रस्तावित ६ महिना र ४२ दिनको बिदा व्यवस्था कार्यान्वयनमा आउनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*