घट्यो रेमिट्यान्स
अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिट्यान्स आप्रवाहमा कमी आएको छ । अघिल्ला वर्षहरूमा खासगरी चाडपर्वको समयमा असोज महिनामा उल्लेख्य रेमिट्यान्स बढ्ने प्रवृत्ति देखिन्थ्यो । तर यस वर्ष असोजमा गत वर्षको असोज महिनाको तुलनामा झण्डै साढे ९ अर्ब रुपैयाँ कम रेमिट्यान्स भित्रियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो तीन महिना ९साउन–असोज०को आर्थिक स्थिति सम्बन्धी प्रतिवेदन अनुसार पहिलो त्रैमासमा ७।६ प्रतिशतले रेमिट्यान्स आप्रवाहमा कमी आएको हो । पहिलो तीन महिनामा २ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जबकी अघिल्लो वर्ष सोही अवधिमा २ खर्ब ५८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
आयात बढेसँगै रेमिट्यान्स घट्नुले आयातको न्यून बिजकीकरण हुण्डीमार्फत् भुक्तानी हुँदा देशमा भित्रनुपर्ने रेमिट्यान्समा कमी आएको अनुमान गरिएको छ । यो अवधिमा आयात गत वर्षको सोही अवधिको तुलामा ६३।७ प्रतिशतले बढेर ४ खर्ब ७८ अर्ब रुपैयाँको आयात भएको छ । आयातको तुलनामा निर्यात नगण्य हुँदा व्यापारघाटा ४ खर्ब १३ अर्ब रुपैयाँ छ ।
आयात अत्याधिक बढेसँग मुलुकको शोधनान्तर घाटा ७६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । चालु खाता घाटा १ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ । जबकी अघिल्लो वर्ष सोही अवधिमा चालु खाता ३३ अर्ब ३८ करोड रुपैयाँले बचतमा थियो । चालु खाता घाटाले यथार्थ समयमा मुलुकमा भित्रिएको र बाहिरिएको विदेशी मुद्राको हिसाब देखाउने हुँदा अर्थतन्त्र कति मजबुत छ भन्ने मापन गर्ने प्रबल सूचक मानिन्छ ।
चालु खाता, पुँजी खाता र वित्तीय खाताले भने समग्र शोधनान्तरको स्थितिलाई प्रतिबिम्बित गर्छ । पुँजीखातामा भने वैदेशिक लगानी, विदेशी ऋण तथा अनुदान, वाणिज्य बैंकहरूले विदेशी मुद्रामा विदेशमा गरेको लगानी तथा नेपालका बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रले विदेशबाट ल्याएको ऋणसमेत समावेश हुन्छ । पुँजी खाताको दायित्व दीर्घकालीन हुनेहुँदा शोधनान्तर स्थिति बचत भएपनि दीर्घकालको दायित्व समेत त्यसमा समावेश भएको हुन्छ ।
रेमिट्यान्स घट्दा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपमा प्रत्यक्ष प्रभाव देखिएको छ । एकातिर रेमिट्यान्समा कमी र अर्कोतर्फ सरकारको खर्चमा समेत कमी आउँदा बैंकमा निक्षेप बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार मुद्रास्फिति ४।२४ प्रतिशत छ, अघिल्लो वर्षको पहिलो त्रैमासमा यस्तो मुद्रा स्फिति ३।७९ प्रतिशत थियो ।
रेमिट्यान्स आप्रवाह (रुपैयाँमा)
२०७७ वैशाख – ५३ अर्ब ९४ करोड
जेठ– ९४ अर्ब २ करोड
असार– १०० अर्ब १६ करोड
साउन– ९२ अर्ब ७१ करोड
भदौ – ७३ अर्ब १ करोड
असोज – ९३ अर्ब १२ करोड
कात्तिक – ७८ अर्ब ८६ करोड
मंसीर – ७९ अर्ब ८ करोड
पुस – ७८ अर्ब ५० करोड
माघ– ७२ अर्ब ३९ करोड
फागुन– ७४ अर्ब ४३ करोड
चैत– ८६ अर्ब ८८ करोड
२०७८ वैशाख– ८० अर्ब ८६ करोड
जेठ– ६१ अर्ब ४ करोड
असार – ९० अर्ब ११ करोड
साउन – ७५ अर्ब ९५ करोड
भदौ – ७९ अर्ब ४२ करोड
असोज( ८३ अर्ब ९५ करोड
(स्रोतः नेपाल राष्ट्र बैंक)









