कोल्हवीमा संयुक्त वन गस्ती टोलीको छापा : चिरान काठ, भरुवा बन्दुक र हरिणको छाला बरामद

कोल्हवी न्यूज
२०८३ भाद्र २४, बुधबार १५:४४ गते

कोल्हवी,बारा। बाराको कोल्हवी नगरपालिका–२ हनुमानगञ्ज स्थित कोल्हवी बाँध नजिक संयुक्त वन गस्ती टोलीले चिरान काठ, भरुवा बन्दुक तथा वन्यजन्तुसँग सम्बन्धित सामग्री बरामद गरेको छ।

 

 

संयुक्त वन गस्ती टोलीले कोल्हवी बाँध नजिक रहेको राम विनय दासको घरमा खानतलासी गर्दा साल जातको २८ थान चिरान काठ फेला पारेको हो। बरामद काठको कुल परिमाण १०.५४ क्यूफिट रहेको जनाइएको छ। टोलीले एक थान गोलियासहित दुई थान भरुवा बन्दुक समेत बरामद गरेको जनाएको छ।

 

 

 

त्यसैगरी, घरबाट हरिणको एक थान छाला, वन्यजन्तु समात्न प्रयोग हुने डोरीको जाल चार थान तथा धनेश चराको एक थान चुच्चो समेत बरामद भएको गस्ती टोलीले जनाएको छ।
वन क्षेत्रमा अवैध रूपमा काठ कटानी तथा वन्यजन्तुको चोरी–सिकार हुनसक्ने सूचनाका आधारमा संयुक्त वन गस्ती टोलीले निगरानी तथा खानतलासी गर्ने क्रममा उक्त सामग्री फेला पारेको बताइएको छ।

 

 

बरामद भएका काठ, भरुवा बन्दुक तथा वन्यजन्तुसँग सम्बन्धित सामग्रीबारे सम्बन्धित निकायले आवश्यक अनुसन्धान अघि बढाउने जनाएको छ। बरामद सामग्री कहाँबाट ल्याइएको हो र त्यसको प्रयोग तथा संलग्नताबारे समेत अनुसन्धान गरिने बताइएको छ।
घटनामा राम विनय दास पक्राउ परेको भने छैन।

 

 

वन क्षेत्रमा हुने अवैध काठ कटानी, चोरी–सिकार तथा वन्यजन्तु ओसारपसार नियन्त्रणका लागि संयुक्त गस्ती तथा निगरानीलाई कडाईका साथ निरन्तरता दिइने सब- डिबिजन प्रमुख पटेलले कोल्हवी न्युज लाई जनाकारी दिनुभएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*