सिरहाको सीमाबाट १५७ किलोभन्दा बढी गाँजा
सिरहा — भारततर्फ लैजाँदै गरिएको ठूलो परिमाणको गाँजा सशस्त्र प्रहरीले सिरहाको सीमा क्षेत्रबाट बरामद गरेको छ।
सशस्त्र प्रहरीको गस्ती टोलीले औरही गाउँपालिका–४ इट्टाटारबाट १५७ किलो २०७ ग्राम गाँजा नियन्त्रणमा लिएको हो।
बुधबार बिहान करिब १ः३५ बजे गस्तीमा खटिएको टोलीलाई देखेपछि गाँजा बोकेर भारततर्फ जाँदै गरेका व्यक्तिहरूले गाँजा त्यहीँ छाडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ।
सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरी नं. ७ गण सिरहाले जनाएको छ।










