राप्रपाका वीरगन्ज महानगर अध्यक्ष सर्राफ जय नेपाल पार्टीमा प्रवेश
वीरगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा करिब १७ वर्ष सक्रिय राजनीति गरेका जलेश्वर सर्राफ जय नेपाल पार्टीमा प्रवेश गरेका छन्।
राप्रपाका वीरगन्ज महानगर अध्यक्षसमेत रहेका सर्राफ डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको जय नेपाल पार्टीमा प्रवेश गरेका हुन्।
पार्टीले सर्राफलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिँदै पर्सा र रौतहटमा संगठन विस्तारको जिम्मेवारीसमेत दिएको जनाएको छ। नयाँ जिम्मेवारीअनुसार पार्टीको संगठन विस्तार, जनसम्पर्क र राजनीतिक गतिविधिमा सक्रिय रहने सर्राफले बताएका छन्।
पार्टी प्रवेशपछि सर्राफले अध्यक्ष धवलशम्शेर राणा देश र जनताप्रति जिम्मेवार नेता भएको दाबी गरे। राणा हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा रहेको तथा गणतान्त्रिक व्यवस्थाप्रति असहमति राख्दै आएको उनले बताए।
नेपाल र नेपालीको भविष्य सुनिश्चित गर्न जय नेपाल पार्टी उपयुक्त विकल्प भएको दाबी गर्दै सर्राफले पार्टीलाई देशव्यापी रूपमा बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न सक्रिय भएर लाग्ने बताएका छन्।










