भोटेकोशी बाढीमा १ हजार ३५७ जनाको शव फेला, ५ हजारभन्दा बढी सम्पर्कविहीन

कोल्हवी न्यूज
२०८३ भाद्र २३, मंगलवार १५:२८ गते

त्रिशूली–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि जारी खोज तथा उद्धारका क्रममा हालसम्म १ हजार ३५७ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फेला परेका शवमध्ये पहिचान खुलेका १०२ जनाको शव परिवारलाई बुझाइसकिएको छ।

बाढीमा ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन्। प्राधिकरणको तथ्यांकअनुसार ५ हजार ३२६ जना बेपत्ता छन्। तीमध्ये रसुवामा मात्रै २ हजार ८६० जना सम्पर्कविहीन छन्। नुवाकोटमा १ हजार ९८१ नेपाली तथा करिब ५८७ जना विदेशी पर्यटक बेपत्ता रहेको विवरणमा उल्लेख छ।

प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ। प्रवक्ता शान्ति महतका अनुसार विपद्मा परेका १३ हजार ५८३ जनाको उद्धार गरिएको छ।

घाइतेमध्ये ६ हजार ८२७ जनाले उपचार पाएका छन्। उद्धार तथा उपचारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकायका २१ हजार ४०२ जना जनशक्ति खोज तथा उद्धारमा खटिएका छन्। नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार २८७ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

विस्थापितको व्यवस्थापनका लागि रसुवा, नुवाकोट र धादिङमा ३९ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। ती केन्द्रमा हाल ३ हजार ५३३ जना रहेका छन्। नुवाकोटमा २ हजार ६५१, रसुवामा ६६९ र धादिङमा २१३ जना राखिएका छन्।

उद्धारका लागि हेलिकोप्टरको समेत व्यापक प्रयोग गरिएको छ। नेपाली सेनाले १ हजार १५७ पटक हेलिकोप्टर उडान गरेको छ भने निजी क्षेत्रका हेलिकोप्टरबाट १२९ र सशस्त्र प्रहरीबाट २०३ उडान गरिएको प्राधिकरणले जनाएको छ।

बाढी प्रभावित स्थानीय तहमा राहत रकमसमेत पठाइएको छ। रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ। प्रभावित १५ स्थानीय तहका लागि थप १३ करोड ५० लाख रुपैयाँसमेत उपलब्ध गराइएको छ।

प्रभावित क्षेत्रमा इन्धन तथा अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउन व्यवस्था मिलाइएको छ। प्राधिकरणका अनुसार हाल ५० हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र १८ हजार लिटर हवाई इन्धन मौज्दात छ। ४५७ वटा एलपी ग्यास सिलिन्डरमा अनुदानसमेत दिइएको छ।

बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मतपछि प्रभावित क्षेत्रमा विद्युत् सेवा पनि क्रमशः सञ्चालनमा आउन थालेको छ। रसुवामा ७८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र धादिङमा ९९.८ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुनः सञ्चालन भएको छ।

विपद्को मानसिक असर कम गर्न स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा १५० भन्दा बढी जनशक्ति परिचालन गरेको छ। उनीहरूले प्रभावित तथा विस्थापितलाई मनोसामाजिक परामर्श दिइरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*