मकवानपुरमा प्रहरीले १६२ किलोभन्दा बढी लागूऔषध गाँजासहित दुई जना पक्राउ
मकवानपुरमा प्रहरीले १६२ किलोभन्दा बढी लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
मंगलबार बिहान करिब २:४५ बजे जिल्ला मकवानपुरको मनहरी गाउँपालिका–९, भाबरस्थित भित्री सडकखण्डमा भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१-०२५ च ०८७७ नम्बरको कारलाई प्रहरीले विशेष सूचनाका आधारमा रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा कारको सिटभित्र लुकाइछिपाइ प्लास्टिकमा बेरिएका १३ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गाँजा तौल गर्दा १६२ किलो ७९४ ग्राम रहेको पाइएको छ।
उक्त कारलाई ग २ च ६१५ नम्बरको पिकअप गाडीले स्कर्टिङ गरिरहेको अवस्थामा प्रहरीले दुवै गाडी नियन्त्रणमा लिन खोजेको थियो। प्रहरीका अनुसार पिकअप चालक भाग्न खोजेपछि दुवै गाडी र चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मनहरीमा राखिएको छ।
पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–५, धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो र भरतपुर महानगरपालिका–२४ बस्ने ४८ वर्षीय टेकबहादुर दोङ रहेका छन्।
प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा पिकअप गाडीले कारलाई स्कर्टिङ गरेको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










