बाराको छातापिपरामा जिप दुर्घटना, चालकको मृत्यु
बारा । वीरगञ्ज–पथलैया सडकखण्डअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ छातापिपरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
सोमबार पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना.५ च २२७७ नम्बरको जिप अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा जिप चालक पर्साको वीरगञ्ज महानगरपालिका–३० प्रोसतीपुरका २२ वर्षीय जैमुदिन अन्सारी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बाराको परवानीपुरस्थित एलएस न्यूरो अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले अन्सारीलाई मृत घोषणा गरेका हुन्।
यस्तै, जिपका सहचालक पर्साको विश्रामपुर गाउँपालिका–९ का २० वर्षीय स्वयमभुला अन्सारी घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










