बकैया–१२ मा घरभित्र ३५ वर्षीय पुरुष मृत फेला, तीन जना पक्राउ

कोल्हवी न्यूज
२०८३ भाद्र २२, सोमबार १७:०९ गते

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–१२ धारापानीमा एक पुरुष आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेका छन्।

मृत्यु हुनेमा स्थानीय मानबहादुर खत्रीका ३५ वर्षीय छोरा राजकुमार खत्री रहेका छन्। उनी भदौ १९ गते दिउँसो करिब १ः१५ बजे घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय ठिङ्गनबाट प्रहरी निरीक्षक सुशान्त मिश्रको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। घटनास्थल सुरक्षित राखी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा SOCO सहितको टोली तथा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट DOG सहितको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

प्रारम्भिक घटनास्थल मुचुल्का तयार गरी मृतकको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको छ।

प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि मृतककी श्रीमती ३५ वर्षीया सलिना घले, आमा ६० वर्षीया गोमा खत्री र भाइ ३३ वर्षीय दिनेश खत्रीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याएको जनाएको छ।

घटनाको कारण तथा मृत्युको वास्तविक अवस्था खुल्न बाँकी रहेको र प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*