रौतहटमा आत्महत्या होइन हत्या हो’भन्दै माइतीको गम्भीर आरोप

कोल्हवी न्यूज
२०८३ भाद्र १९, शुक्रबार १४:०७ गते

रौतहट,दुई महिनाअघि मात्रै प्रेमलाई जीवनसाथी बनाएकी रौतहटकी १८ वर्षीया सुमेदी कुमारी पटेलको जीवन यति चाँडै अन्त्य होला भन्ने उनका माइतीले कल्पनासमेत गरेका थिएनन्। तर, प्रेम विवाह गरेको दुई महिना नबित्दै उनी घरकै भान्सा कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेपछि परिवार शोकमा डुबेको छ।

 

 

 

रौतहटको देवाही गोनाही नगरपालिका–३ गोठटोलमा भएको यो घटनालाई लिएर सुमेदीका माइती पक्षले आत्महत्या नभई हत्या गरेर झुन्ड्याइएको हुनसक्ने गम्भीर आरोप लगाएका छन्।उनीहरूले छोरीलाई दाइजोका लागि विवाहपछि मानसिक तथा शारीरिक यातना दिने गरिएको दाबीसमेत गरेका छन्।

 

 

 

गरुडा नगरपालिका–७ पिपरिया निवासी सुमेदीले गत असार १९ गते देवाही गोनाही–३ का २२ वर्षीय रौनक राज पटेलसँग प्रेम विवाह गरेकी थिइन्। परिवारको सहमतिबिना प्रेम विवाह गरेपछि उनी रौनककै घरमा बस्दै आएकी थिइन्।तर, प्रेमको सुरुवाती दुई महिनामै उनको जीवनमा यस्तो त्रासदी आइपुग्यो, जसले अहिले अनेक प्रश्न जन्माएको छ।

 

 

 

भदौ १७ गते बिहान करिब ५ बजे सुमेदी घरको भान्सा कोठामा सालको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उनकी सासुले बुहारीलाई झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ।
घटनाको खबर सुन्नासाथ माइती पक्ष छोरीको घर पुगे। तर, त्यहाँ उनीहरूले छोरीलाई जीवित होइन, मृत अवस्थामा पाए। जुन घरमा छोरीले आफ्नो नयाँ जीवन सुरु गरेकी थिइन्, त्यही घरबाट उनको शव निस्किएपछि परिवारको पीडा झन् गहिरिएको छ।

 

 

 

 

मृतकका बुवा लालबाबु पटेलले विवाहपछि छोरीलाई दाइजोका नाममा निरन्तर दबाब र यातना दिने गरिएको आरोप लगाएका छन्। उनका अनुसार रौनक, उनका बुवा सुभाष पटेल र बहिनीले ६ तोला सुन, मोटरसाइकल, नगदलगायतका सामग्री दाइजोमा माग गर्ने गरेका थिए।

 

 

माइती पक्षको दाबीअनुसार मागअनुसार दाइजो दिन नसकेपछि सुमेदीमाथि कुटपिट, दुर्व्यवहार र मानसिक यातना बढ्दै गएको थियो। यही कारण उनको हत्या गरी शव झुन्ड्याएर आत्महत्या गरेको देखाउन खोजिएको हुनसक्ने बुवा लालबाबुको आशंका छ।
‘छोरीले आफैं यस्तो कदम चालिन्’ भन्ने कुरा स्वीकार गर्न नसकिरहेको परिवारले उनको मृत्युको पछाडि दाइजोको दबाब र पारिवारिक यातना रहेको दाबी गरिरहेको छ।

 

 

 

यद्यपि, माइती पक्षले लगाएको हत्याको आरोपको स्वतन्त्र पुष्टि भइसकेको छैन। सुमेदीको मृत्यु आत्महत्या हो वा अन्य कुनै कारणबाट भएको हो भन्ने विषय पोस्टमार्टम रिपोर्ट तथा प्रहरी अनुसन्धानबाट स्पष्ट हुने देखिन्छ।

 

 

 

घटनापछि उनको शव बिहीबार प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टमपछि बिहीबार साँझ नै अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्रै मृत्युको वास्तविक कारण यकिन हुने बताएका छन्।

 

 

 

यता, इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यका अनुसार माइती पक्षले बिहीबार रौनकसहितका व्यक्तिविरुद्ध कर्तव्य ज्यानसम्बन्धी जाहेरी दिन खोजेका थिए। तर पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको प्रकृतिअनुसार कानुनी प्रक्रिया अघि बढाउने सहमति भएपछि उनीहरू फर्किएका थिए।
 

 

 

दुई महिनाको बैबाहिक जीवन,अनुत्तरित थुप्रै प्रश्न
सुमेदीको मृत्युले एउटा परिवारलाई मात्र होइन, समाजलाई समेत गम्भीर प्रश्न छाडेको छ। प्रेम विवाहपछि दुई महिनामै एक युवतीको मृत्यु हुनु र त्यसपछि माइती पक्षले दाइजो तथा यातनाको आरोप लगाउनु सामान्य घटनाका रूपमा लिन सकिने विषय होइन।
यदि माइती पक्षले लगाएको आरोपमा सत्यता छ भने दाइजोको लोभले एउटा युवतीको जीवन नै समाप्त पारिएको हुनसक्छ। र यदि आरोपमा सत्यता छैन भने पनि घटनाको वास्तविकता अनुसन्धानबाट स्पष्ट पारिनु उत्तिकै आवश्यक छ।

 

 

 

त्यसैले सुमेदीको मृत्युको कारण पत्ता लगाउन मृत्यु हुनुअघिका घटनाक्रम, पारिवारिक सम्बन्ध, दाइजोसम्बन्धी विवाद, सम्भावित यातना र घटनास्थलको अवस्थासहित सबै पक्षको निष्पक्ष अनुसन्धान आवश्यक देखिन्छ।अहिले सुमेदी छैनन्। बाँकी छ त उनको परिवारको पीडा र मृत्युको कारणबारे अनुत्तरित प्रश्न।
मृतकका आफन्तले पनि घटनाको निष्पक्ष र गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन तथा दोषी देखिए कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*